त्रिविको दीक्षान्त समारोह अब सातै प्रदेशमा, ९५ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

Nepal Timeline2 min read

त्रिविको दीक्षान्त समारोह अब सातै प्रदेशमा, ९५ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

३० असोज, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीको सहजताका लागि पहिलोपटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । यससँगै दीक्षान्त समारोहमा सहभागी हुन देशका विभिन्न जिल्लाबाट काठमाडौं आउनुपर्ने विद्यार्थीको बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

त्रिविका उपकुलपति प्रा. डा. भोला थापाका अनुसार २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना हुनेछ । त्यसपछि सातै प्रदेशमा फरक–फरक समयमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ । प्रदेशस्तरीय समारोहको मिति भने तय हुन बाँकी छ ।

‘प्रदेश–प्रदेशमा पुगेर छलफल गरिरहेका छौँ । हिजोमात्र सुदूरपश्चिमको धनगढीबाट फर्किएका छौँ,’ उपकुलपति थापाले भने ।

प्रदेशस्तरीय दीक्षान्त समारोहको तयारीका लागि त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई प्रादेशिक संरचनामा रूपान्तरण गरिनेछ । सम्बन्धित प्रादेशिक कार्यालयका प्रमुखको संयोजकत्वमा आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त निजी क्याम्पसका प्रमुख र कर्मचारी सम्मिलित समिति गठन गरिनेछ ।

उक्त समितिले दीक्षान्त समारोह आयोजना गर्ने उपयुक्त स्थान सिफारिस गर्नुका साथै आवश्यक तयारी गर्नेछ । समारोह सार्वजनिक स्थल वा क्याम्पसमा आयोजना गर्न सकिने उपकुलपति थापाले बताए ।

प्रदेशमा हुने समारोहमा काठमाडौंको मूल समारोहमा जस्तै सबै प्रक्रिया दोहोर्‍याउनुपर्ने छैन । त्रिविले यसपटक विद्यार्थीको सहभागिता कम भए पनि प्रदेशस्तरीय दीक्षान्त समारोह सुरु गर्ने तयारी गरेको छ । प्रदेशमा समारोह आयोजना गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थापाले बताए ।

यसअघि पनि त्रिविले प्रदेशस्तरमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको थियो । तर सरकार परिवर्तनसँगै विश्वविद्यालयको नेतृत्व परिवर्तन भएपछि उक्त योजना अघि बढ्न सकेको थिएन । नयाँ पदाधिकारीले यस विषयमा छलफल अघि बढाउँदै विभिन्न प्रदेशमा पुगेर तयारी थालेका हुन् ।

देशका दुर्गम तथा टाढाका जिल्लाबाट काठमाडौं आउन विद्यार्थीले यातायात, आवास र अन्य खर्चमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । परिवारका सदस्यसमेत सहभागी हुँदा खर्च र समय थप बढ्ने गरेको छ । प्रदेशमै दीक्षान्त समारोह आयोजना हुँदा विद्यार्थी, अभिभावक तथा कार्यरत कर्मचारीलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य

त्रिविका अनुसार यस वर्ष कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन योग्य भएका छन् । त्रिविको ६७औँ वार्षिक दिवसको बैठकले विद्यार्थीको ग्रेसलिस्ट पारित गरेको हो ।

२०८२ साल असार १ देखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्तका लागि योग्य भएका हुन् । कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् ।

योग्य विद्यार्थीमध्ये एमफिलतर्फ २५३, स्नातकोत्तर डिप्लोमा (पीजीडी) तर्फ १८४ र विद्यावारिधि (पीएचडी) तर्फ १६६ जना रहेका छन् ।

संकाय तथा अध्ययन संस्थानअनुसार व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् । त्यस्तै, शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ जना योग्य भएका छन् ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।

सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गर्ने त्रिविको तयारी कार्यान्वयनमा आएमा विद्यार्थीले आफ्नै प्रदेशमा दीक्षित हुने अवसर पाउनेछन् । यसले दीक्षान्त समारोहमा सहभागिता सहज बनाउनुका साथै विद्यार्थी र परिवारको समय तथा खर्चसमेत घटाउने अपेक्षा गरिएको छ ।