गृहमन्त्रीविरुद्ध भ्रामक भिडियो पोस्ट गरेको आरोपमा नेकपा कार्यकर्ता पक्राउ

Nepal Timeline1 min read

गृहमन्त्रीविरुद्ध भ्रामक भिडियो पोस्ट गरेको आरोपमा नेकपा कार्यकर्ता पक्राउ

काठमाडौं।

सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन्।

फेसबुकमा ‘गोरखामा सुधन गुरुङलाई लखेटे’ शीर्षकमा भिडियो रिल्स पोस्ट गरेको आरोपमा प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रहेका अधिकारीलाई विद्युतीय कारोबार ऐन तथा शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न कास्की प्रहरीले पक्राउ गरी गोरखा पठाएको जनाएको छ।

परिवारका अनुसार आइतबार फेसबुकमा भिडियो पोस्ट गरेका अधिकारीलाई सोमबार साँझ पोखरा–८ नागढुंगाबाट पक्राउ गरिएको थियो। उनलाई मंगलबार बिहान गोरखा पुर्‍याइएको हो।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गोरखा प्रहरीको अनुरोधमा अधिकारीलाई पक्राउ गरेर पठाइएको जानकारी दिए। उनका अनुसार पक्राउ गर्न गोरखा प्रहरीले अनुरोध गरेपछि प्रहरीले सोहीअनुसार प्रक्रिया अघि बढाएको हो।

यता, गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले पुरानो घटनालाई गृहमन्त्री गोरखा पुगेको समयको घटनाजस्तो प्रस्तुत गरी सामाजिक सञ्जालमा भ्रम फैलाएकाले अधिकारीलाई पक्राउ गरिएको बताए।

श्रेष्ठका अनुसार अधिकारीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको तथा भ्रामक सूचना फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई मंगलबार गोरखा जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको उनले जानकारी दिए।

यद्यपि, अधिकारीलाई गृहमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको भन्ने आशंकालाई डीएसपी श्रेष्ठले अस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालयले यसअघि नै विज्ञप्तिमार्फत घटनाबारे खण्डन गरिसकेको विषयमा पुनः भ्रम फैलाइएको उनको दाबी छ।

अधिकारीको पक्राउप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले आपत्ति जनाएको छ। उनलाई गोरखा पुर्‍याइएपछि पार्टीका कास्की इन्चार्ज रामजीप्रसाद बराल, संयोजक खड्ग हमाललगायतका नेताहरूले प्रहरी अधिकारीहरूसँग भेट गरी घटनाबारे चासो व्यक्त गरेका थिए।

इन्चार्ज बरालले सामाजिक सञ्जालमा लेखेकै आधारमा नागरिकलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै अधिकारीको तत्काल रिहाइको माग गरेका छन्। राज्यले आलोचनात्मक अभिव्यक्तिमाथि दमन गर्नु उचित नभएको उनको भनाइ छ।

त्यस्तै, वाईसीएल कास्कीले पनि विज्ञप्ति जारी गर्दै अधिकारीको रिहाइको माग गरेको छ। सरकारको आलोचना गर्ने नागरिकलाई पक्राउ गरेर विचार तथा अभिव्यक्तिको स्वतन्त्रता नियन्त्रण गर्न खोज्नु निरङ्कुश प्रवृत्ति भएको भन्दै संगठनले विरोध जनाएको छ।

वाईसीएलले नागरिकको आवाज दबाएर लोकतन्त्र बलियो नहुने र यस्ता गतिविधिले राज्यप्रतिको जनविश्वास कमजोर बनाउने जनाएको छ।