देशमा विवेक र विचार हराउँदै गएको प्रचण्डको आरोप
Nepal Timeline1 min read
काठमाडौं।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति सरकारको आलोचना गरेका हुन्।
प्रचण्डले राज्यमा विचार र विवेक कमजोर हुँदै गएको तथा जनतालाई आतङ्कित पार्ने र दबाबमा राख्ने प्रवृत्ति बढेको दाबी गरे। यस्तो परिस्थितिमा विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।
देशलाई सही दिशामा अघि बढाउन आफ्नो पार्टी फेरि एकपटक तयार रहेको उल्लेख गर्दै उनले एकताको झण्डामुनि गोलबद्ध हुन सबैलाई आह्वान गरे।
कार्यक्रममा उनले विभिन्न स्थानमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको पनि स्वीकार गरे। विगतका कमजोरीलाई स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले आफ्ना कमजोरीबारे खुलेर बोल्न डराउन नहुने बताए।
‘यतिबेला देशमा विवेक हराएको छ। राज्यमा विचार हराएको छ। आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने प्रवृत्ति हाबी छ,’ उनले भने।
विवेक, विचार र सिद्धान्तका पक्षधरहरू पुनः एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
