चाडपर्वमा अनलाइन ठगीको जोखिम बढ्ने भन्दै राष्ट्र बैंकद्वारा सतर्क रहन आग्रह

Nepal Timeline2 min read

चाडपर्वमा अनलाइन ठगीको जोखिम बढ्ने भन्दै राष्ट्र बैंकद्वारा सतर्क रहन आग्रह

३० असोज, काठमाडौं ।

दसैं, तिहार र छठलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

चाडपर्वमा डिजिटल कारोबार बढ्ने र ठगी गर्नेहरूले विभिन्न प्रलोभन देखाएर ग्राहकलाई निशाना बनाउन सक्ने भएकाले बैंकिङ विवरण, पासवर्ड र ओटीपी सुरक्षित राख्न इकाइले अनुरोध गरेको हो ।

इकाइका अनुसार दसैं धमाका, तिहार तथा छठको बम्पर उपहार परेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र उपहार प्राप्त गर्न सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्छ । यस्ता प्रलोभनमा परेर रकम गुमाउने जोखिम रहेकाले शङ्कास्पद सन्देश र लिंकबाट सावधान रहनुपर्ने इकाइले जनाएको छ ।

त्यसैगरी, बैंक तथा डिजिटल वालेटका नक्कली वेबसाइट बनाएर केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने भन्दै ग्राहकलाई डर देखाउने र पासवर्ड, ओटीपी तथा व्यक्तिगत विवरण चोरी गर्ने जोखिमसमेत रहेको छ । सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुटको विज्ञापन राखेर अग्रिम भुक्तानी लिने तर सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने गतिविधिबाट पनि सचेत रहन इकाइले आग्रह गरेको छ ।

अरू व्यक्तिको नागरिकता, तस्बिर वा किर्ते कागजात प्रयोग गरी नक्कली खाता खोलेर आपराधिक गतिविधि हुन सक्ने जोखिमप्रति समेत इकाइले ध्यानाकर्षण गराएको छ ।

अनलाइन ठगीबाट जोगिन मोबाइलमा प्राप्त हुने ओटीपी, बैंक खाताको पासवर्ड र डिजिटल वालेटको पिन कसैलाई पनि उपलब्ध नगराउन इकाइले सुझाव दिएको छ । निःशुल्क रिचार्ज, चिट्ठा परेको वा आकर्षक उपहारको प्रलोभन देखाउने शङ्कास्पद लिंक नखोल्न तथा अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्ने विकल्प रोज्नुपर्ने सूचनामा उल्लेख छ ।

इकाइले बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई पनि ग्राहकको पहिचानसम्बन्धी विवरण प्रमाणीकरण गर्न, एउटै ठेगाना वा मोबाइल नम्बर प्रयोग गरी फरक–फरक नाममा खोलिएका खाताको निगरानी बढाउन र शङ्कास्पद कारोबार पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाव दिएको छ ।

चाडपर्वअघि कर्मचारीलाई ठगीका सम्भावित तरिका पहिचान गर्ने तालिम दिनुका साथै एसएमएस र सामाजिक सञ्जालमार्फत ग्राहकलाई सचेत गराउन पनि इकाइले आग्रह गरेको छ ।

अनलाइन ठगीमा परेको शङ्का लागेमा तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट रोक्का गराउन र नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन इकाइले अनुरोध गरेको छ ।