दुई हजारलाई दिने भनिएको निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

Nepal Timeline1 min read

दुई हजारलाई दिने भनिएको निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं।

दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक अनलाइन तालिममा ठूलो संख्यामा आवेदन परेको हो। आवेदन अपेक्षाभन्दा धेरै भएपछि प्रतिष्ठानले सबै आवेदकलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाएको जनाएको छ।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। सुरुमा कात्तिक १८ र १९ गते चारवटा सत्र सञ्चालन गरी प्रत्येक सत्रमा ५०० जनाका दरले कुल दुई हजार युवालाई तालिम दिने योजना बनाइएको थियो।

तर, तालिमप्रति युवाको आकर्षण बढेपछि आवेदन दिएका सबैलाई सहभागी गराउने निर्णय गरिएको हो। सहभागीहरूलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत अनलाइन कक्षाको लिंक पठाइनेछ। आवेदन फाराममा उल्लेख गरिएको नाम र मोबाइल नम्बरका आधारमा सहभागीले आफूले रोजेको सत्रमा जोडिन सक्नेछन्।

तालिम मोबाइल फोन वा ल्यापटपबाट लिन सकिने व्यवस्था गरिएको छ। तालिममा मुख्यतः च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग र उपयोगी प्रम्प्ट लेखनबारे प्रशिक्षण दिइनेछ।

यसका साथै इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्नेसम्बन्धी व्यावहारिक सीपसमेत सिकाइनेछ।

आधारभूत तहको यस तालिममार्फत युवालाई एआई प्रविधिसँग परिचित गराउँदै दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा यसको उपयोग गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

प्रविधिको तीव्र विकाससँगै परिवर्तन भइरहेको श्रम बजारको आवश्यकताअनुसार युवाको क्षमता अभिवृद्धि गर्न एआई साक्षरता विस्तार गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो। तालिम प्रत्यक्ष अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले सहभागीलाई तोकिएको समयमा कक्षामा उपस्थित हुन आग्रह गरिएको छ।