एनपीएलको रौनक देशभर पुर्याउन ९ सहरका १० स्थानमा फ्यान जोन
Nepal Timeline1 min read
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह देशभर फैलाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंक्सले देशका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल ठूला एलईडी स्क्रिनमार्फत फ्यान जोनमा निःशुल्क प्रत्यक्ष प्रसारण गरिनेछ।
रङ्गशालामा पुगेर खेल हेर्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर खेलको रोमाञ्च अनुभव गराउने लक्ष्यसहित फ्यान जोन स्थापना गर्न लागिएको आयोजकले जनाएको छ। फ्यान जोनमा प्रवेश गर्न कुनै शुल्क लाग्ने छैन।
काठमाडौं उपत्यकामा तीन स्थान
काठमाडौं उपत्यकाभित्र तीन स्थानमा फ्यान जोन सञ्चालन हुनेछन्। काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको दोस्रो गेटअगाडिको चौरमा दर्शकले खेल हेर्न सक्नेछन्।
उपत्यकाबाहिर सात सहरमा फ्यान जोन
उपत्यकाबाहिर पनि सात सहरमा फ्यान जोन सञ्चालन गरिनेछ। जसअनुसार धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसस्थित डिग्री कलेज परिसर, जनकपुरको बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा फ्यान जोन रहनेछन्।
फ्यान जोनलाई खेल प्रसारणमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्रका रूपमा विकास गरिने आयोजकले जनाएको छ। त्यहाँ खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलकुद गतिविधि र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्। दर्शकले विभिन्न ‘गिभअवे’ प्रतियोगितामा सहभागी भएर आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन्।
एनपीएलको बढ्दो लोकप्रियताबीच समर्थकलाई एकै ठाउँमा भेला भएर खेलको उत्सव मनाउने अवसर प्रदान गर्न यो पहल गरिएको हो। मैदानमा खेलाडीबीच प्रतिस्पर्धा भइरहँदा देशका विभिन्न सहरमा रहेका फ्यान जोनमा समर्थकको हुटिङ र उत्साहले प्रतियोगिताको माहोल थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
