लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

समाचार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे। ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा उस्तै पाइएको हो? ‘हामीले विश्वका ३५ देशका ४० सहरमा भएका ३०१ वटा स्टेशनबाट संकलित ६ वटा वायु प्रदूषण गर्ने रासायनिक तत्वहरू धुलोको कण, नाइट्रोजन डाइ अस्काइड, ओजन, कार्वन मोनोअक्साइड, सल्फरडाइ अस्काइडको तथ्यांकहरु केलायौं,’ ’श्रेष्ठले भने, ‘यसअघि स्याटलाइटबाट संकलित तस्बिरको विश्लेषण गरेको मात्रै कुराहरू आएका थिए।

सम्भवत यो धेरै सहर समेटिएको र जमिनमा भएको वायु प्रदूषण मापन गर्ने उपकरणमार्फत् संकलित तथ्यांकलाई विश्लेषण गरिएको पहिलो अध्ययन होला। विश्वभर केहि सहरमा प्रदूषणको मात्रा घटे पनि केहिमा नघटेको पायौं।’डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा. सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको संयुक्त टोलीले विश्वका ६ वटै महादेशका ३५ देशका ४० सहरको वायु प्रदूषणको अवस्था बारेमा अनुसन्धान अर्थ आर्जिभमा प्रिप्रिन्टको रुपमा प्रकाशित छ। उक्त अनुसन्धान पियररिभ्यू हुन बाँकी नै छ।

‘हामीले गत वर्षको फेब्रुअरी, मार्च र यो वर्षको फेब्रुअरी र मार्चको वायु प्रदूषणको कारक मानिने धुलोको कण, कार्वनमोनो अक्साइड, नाइट्रोजन डाई अक्साइड, सल्फरडाई अक्साइड, ओजन गरी छ प्रकारका रासायनिक तत्वहरुको वायुमा भएको मात्राको तुलनात्मक अध्ययन गरेका हौं,’ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता डा. अषेश्वर मान श्रेष्ठले भने, ‘त्यसको साथै हामीले गत एक सय दिन यताको प्रदूषणको अवस्था र लकडाउनको कारण त्यसमा आएको फरक पनि विश्लेषण गरेका छौं।’यसअघि विभिन्न संचारमाध्याममा स्याटलाइट तस्बिरहरुको आधारमा प्रदूषण घटेका तथ्य आएका थिए।

‘स्याटलाइट तस्बिरहरु त्यसरी आखाँले हेरेर गरेको विश्लेषणमा त्रुटी पनि हुनसक्ने भन्ने आशंका आइरहेका छन्,’ अष्ट्रेलियाको आरएमआइटी विश्वविद्यालयमा पिएचडी अध्ययन गरिरहेका रोशन शर्माले भने, ‘ त्यसैले हामीले सहरमा राखिएका प्रदूषण मापन गर्ने उपकारणले संकलन गरेका तथ्यांक प्रयोग गरेर अनुसन्धान गरेका हौं। सम्भवत यो धेरै सहरको वायु प्रदूषणको अवस्था हेरिएको पहिलो अध्ययन होला।’ उनले ३०१ वटा स्टेशनबाट लिइएको तथ्यांकलाई केलाएकाे बताए।

अनुसन्धान अनुसार २.५ माइक्रोग्राम भन्दा साना साइजका धुलोका कण गत वर्षको फेब्रुअरीमा भन्दा अहिले १७ सहरमा र गत मार्चभन्दा यसपालीको मार्चमा १४ सहरमा कम भएको छ।भिएना, लन्डन, आर्मस्ट्रेडम, न्युयाेर्क, सिड्नीजस्ता सहरहरुमा धुलोको मात्रामा उल्लेख्य कमी आएकाे छ।लकडाउनका कारण संसारकै प्रदुषित सहरहरु बैगलोर, बैंकक, वेइजिङ, दिल्ली, नांनजिङ, वुहान, उलनवटोरमा धुलोको मात्रामा उल्लेख्य कमी भएको छ। ती सहरहरुमा ठूलो साइजका धुलोको कण पिएम १० को मात्रामा पनि उलेख्य फरक आएको छ। काठमाडौंको वायुमा गत वर्ष फेब्रुअरीको भन्दा यसपाली फेब्रुअरीमा बढे पनि मार्चपछिको वायुमा विषेश गरी लकडाउनपछि उल्लेख्य सुधार भएको छ।

त्यसैगरी विभिन्न सहरहरुमा गाडी र कलकारखानाहरुबाट निस्कने नाइटोजन डाई अक्साइडजस्ता धुँवाको अनुपातमा पनि उल्लेख्य कमी आएको छ। लकडाउनपछि संसारका १९ सहरमा नाइटोजन डाई अक्साइडको प्रदूषणमा कमी आएको छ।त्यसैगरी कार्वनमोनो अक्साइडमा पनि उल्लेख्य कमी आएको छ।यद्यपि याे प्रदूषणकाे मात्रा संसारका सबै सहरमा एकैनासले कमी भएको छैन। लकडाउन नभएका सहरमा भने बढेकाे छ। सल्फरडाइ अक्साइड, ओजनजस्ता हानीकारक रसायन पनि कतै बढेकाे छ कतै घटेकाे छ।’यसरी प्रदूषण घटबढ हुनुमा स्थानीय प्राकृतिक स्रोतहरु जस्तैः आगलागी, कृषिका लागि लगाइने आगोले पनि ठूलो भूमिका खेल्छ। जुन दक्षिण एशियामा झनै प्रभावकारी हुन्छ,’ जर्मनस्थित इन्स्टिच्युट फर एडभान्सड् सस्टनिविलिटी स्टडिजका अनुसन्धाकर्ता डा. महेश्वर रुपाखेतीले भने’ ‘त्यसको साथै यूरोपियन सहरहरुमा घरबाट निस्कने प्रदूषण पनि प्रमुख हुन्छ जुन अहिले घटेको छैन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *