आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्दा…

समाचार

नवीन बाबु गुरुङ पस गाउँ नाम सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन पस गाउँमा सहभागी हुन क्यामेराको झोला बोकेर साथीहरूसँगै पोखरा हिँडियो।पोखरामा स्थानीय र बाहिरबाट आएका पत्रकार साथीहरू हामीलाई पर्खिरहेका थिए। अमरसिंह चोकमा पस गाउँ हिँड्न तम्तैयार बसको आडैमा हामी ओर्लिएपछि सबै जना बसमा उक्लियौं। बस पस गाउँ जान विजयपुर हुँदै हुइँकियो।पोखरालाई तल पारेर पहाड चढ्दै गर्दा पोखराको दृष्य लोभलाग्दो देखियो। कच्ची बाटोमा बससँगै हल्लिदै अघि बढ्यौं। मादी खोलाको तिर ठूला-ठूला फाँट तोरीबारी अनि ग्रामीण बस्तीको सुन्दरताले मन लोभिँदै थियो अनि थकान हराउँदै थियो।

खुला आकाश खुला धर्ती फाँटको बीच-बीचमा परालको टौवाहरू अनि केही ठाँटी र पानी घट्टहरू कुनै कलाकारले रचेको एउटा कृति जस्तो देखिने। हेर्दाहेर्दै बसभित्र बत्ती बल्न थाल्यो बाहिर अँध्यारो हुँदै गयो।साँझ झमक्क हुँदा पस गाउँको पुछारमा रहेको बसपार्कमा पुगियो। बसबाट ओर्लन नपाउँदै पन्चेबाजा घन्किन थाल्यो। गाउँले भाका रन्किन थाल्यो। गाउँको आमा समूह र साँस्कृतिक समूहको स्वागत गुरुङ संस्कृति अनुसार माला र टीका अनि संगीतले हामीलाई स्वागत गरियो। त्यो क्षण अत्यन्तै रोचक लाग्यो।पस गाउँबारे नसुनेको होइन तर आफ्नै आँखाले प्रत्यक्ष अनुभव गर्ने मौका पाएको थिइनँ। त्यसैले यो भ्रमणलाई अवसरको रूपमा लिएको थिएँ। अँधेरी रात बाधक बनेको झैं लाग्यो भोलि उज्यालो त हुँदै थियो तर उत्सुक मनले तन गाउँतिर फर्कियो। डाँडामा टम्म मिलेको गाउँ पहाडी घरको आकार अस्पष्ट देखियो।

घरको बरण्डामा झुन्डिएको बिजुली बत्तीको उज्यालोले आकर्षक घरहरूको आकार देखिन्थ्यो।स्वागतँगै पस गाउँ पस्यौं। थकाइ र हिँडाइ चटक्कै बिर्साइ दिएको थियो पस गाउँ र गाउँलेको आतिथ्यताले। हामी गाउँको बीचमा रहेको समाजघर अर्थात् कार्यक्रम स्थलमा पुग्यौं। नाचगानमा रमायौं।त्यहीबेला एक जनाले ठूलो स्वरले गुरुङ भाषामा बोले- भोलि गाउँ बाध्ने अर्थात् गाउँमा पाहुना आएको र कार्यक्रम भएको हुँदा कसैले काम नगर्नू।हामी सानो छँदा पनि गाउँमा केही पर्यो वा भेला हुनु पर्यो वा केही निर्णय गर्नु परे कटुवालले गाउँ जम्मैले सुन्ने गरी साँझपख यसरी नै कराउने चलन थियो। यो देखेर सानोबेला याद आयो। तर अहिले?

यस्तै सोच्दा सोच्दै खाना खाने समय भयो। खाना खाइवरी जिउलाई आराम दिन निद्रादेवीको काखमा पल्टियौं।बिहानी पख पातलो एक सरो सिरकले ज्यानलाई थेगेन। चाँडै निद्रा खुल्यो। यदि चाँडो गर्ने के! चिसो छल्न उठेर हिँड्ने निधो गर्यौं- साथी विवेक र म। गाउँ पूरै देखिने ठाउँ खोज्दै उकालो लाग्यौं।उकालो लाग्दै गर्दा एउटा गुम्बा जस्तो ठाउँमा पुग्यौं। त्यो ठाउँमा मान्छेहरूको चहलपहल देखिन्थ्यो। कोही पढिरहेका थिए,कोही काम गरिरहेका।त्यो गाउँमा विद्यार्थी बस्ने होस्टेल पनि रहेछ। गाउँलेकै पहलमा खोलिएको रे। गाउँ-गाउँमा विद्यार्थी नभएर र राम्रो पढाइ नभएर स्कुलहरू धमाधम बन्द भइरहेकोबेला पस गाउँमा यो वातावरण देख्दा खुसी लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *